पाटनको गल्लीमा एक साँझ
पाटन दरबार स्क्वायर एउटा जीवन्त सङ्ग्रहालयजस्तै लाग्छ। साँझको झन्डै पाँच बजिसकेको थियो। वरिपरिका मन्दिरहरूमा मान्छेहरू भलाकुसारी गर्दै थिए, कोही सेल्फी र रील बनाउँदै थिए, कोही प्रेमील जोडी मायापिरतीका कुरा गर्दै थिए, कोही वृद्ध साथीहरू म्युजियमबाहिर राखिएका बेञ्चमा बसेर पुराना दिनका कथा साटासाट गर्दै थिए। आकाश रातो-नीलो हुँदै गाढा बन्दै थियो, काठका झ्याल-ढोकामा कुँदिएका फूल, गरुड र मयूर अझै पनि जीवन्त देखिन्थे। कतै टाढाबाट नेवारी बाजाको हल्का धुन आइरहेको थियो, कहिले मन्दिरको घण्टी ठूलो स्वरले बज्थ्यो। पाटन सधैँ यस्तै थियो, यहाँ समय ढिलो गतिमा बग्थ्यो, तर कहिल्यै रोकिएन।
पठाओले मलाई लाजिम्पाटबाट यो जीवन्त सङ्ग्रहालयको अगाडि छोड्यो। म एक्लै साथीहरूलाई कुरेर बसेको थिएँ। प्रायः म नै समयमा पुग्थेँ, तर मेरा साथीहरू अलि विपरीत स्वभावका कहिल्यै समयमा पुग्दैनथे।
कृष्ण मन्दिरको ठ्याक्कै अगाडि एउटा पुरानो, सय वर्षभन्दा पनि पुरानो नेवारी भट्टी “होनाचा”। मङ्गल बजारमा कृष्णलाल ब्यञ्जनकारले भोकाएका किसानहरूलाई खुवाउन सानो पसलको रूपमा यो सुरु गरेका रहेछन्। यहाँ राँगाको मासुका परिकारहरू छोयला, द्याकुला, कचिला, सुकुटी, भुटन, खागो फ्राईका साथै केही तरकारीका परिकार पनि पाइन्छ। यहाँको सबैभन्दा विशेष परिकार थियो बारा।
सायद यो मेरो हाइस्कूल सकिएपछिको पहिलो भट्टी थियो, जसले मलाई भट्टी-यात्रा गर्न सिकायो। साथीहरू आएपछि हामी त्यहीँ छिर्यौँ। एउटा कुनामा बसेकी साउनी (वा भनौँ मास्टर सेफ) ठूलो तावामा बारा बनाउँदै थिइन्। उनको अनुहारमा मैले कहिल्यै मुस्कान देखेको थिइनँ, न त कुनै आतिथ्य नै। लियोनार्दो दा भिन्चीको मोनालिसाजस्तै रहस्यमयी मुस्कान उनको ओठमा सधैँ खेलिरहन्थ्यो। तर म त लियोनार्दो दा भिन्ची थिइनँ, जसले उनको सुन्दरता कोट्याओस्; न त चित्रकार नै थिएँ।
“साउनी, चारवटा मिक्स्ड बारा, मासुको झोल राखेर दिनुस् न।”
पाटनका धेरैजसो भट्टीहरू बाँकी नै थिए। त्यसैले त्यहाँ बारा मात्र खाने विचारमा हामी चार जना बिचारा। यहाँको आलु र छोयला एकदमै मिठो, तर एकदम पिरो। साथीहरूले “खाऊँ” भन्दै गरे पनि हामीले बारा मात्र माग्यौँ। कालो दालको ठूलो बारा माथि किमा र अण्डा, बाहिर खैरो, भित्र नरम। यो भट्टीमा नआएका बिरलै कोही होलान्। यहाँको बाराको स्वाद पाटनभरिका भट्टीहरूभन्दा माथि थियो।
मोनालिसालाई बिल तिरेर हामी अब ३-जी (Third Generation) होनचा भट्टीतिर लाग्यौँ।
होनाचा पाटनमा अहिले चार-पाँचवटा देखिन्छन्। ३-जी होनाचाको अगाडि पुग्नेबित्तिकै यहाँकी साहुनी मेरिना ब्यञ्जनकारले हात जोडेर नमस्कार गर्नुभयो र हर्षित मुहारले हामीलाई स्वागत गर्नुभयो। सधैँ हँसमुख, आफ्नो भट्टी र खाना कसरी बेच्ने भन्ने राम्रोसँग थाहा भएको व्यक्ति। धेरै अघि जवान हुँदाकी जस्तै अहिले पनि उत्तिकै जवान देखिन्थिन्। दुई छोराका आमा, अहिले त हजुरआमा नै भइसक्नुभएको थियो। च्यासलका केटाहरूले उहाँलाई बेलायतकी महारानी लेडी डायना भनेर सम्बोधन गर्थे रे!
हामीले यहाँ चटामरी, छोयला, खागो, सपुमिचा र जाँड मगायौँ। मिठो जाँडको स्वादमा हामीले छोयला र खागो मज्जाले रमायौँ। सपुमिचा आयो, केही साथीहरू “यो के हो र कसरी खाने?” भन्दै थिए। मैले “यसरी खाने” भन्दै एउटा प्लेटबाट टिपेर खाएर देखाइदिएँ। सपुमिचा खान नआउनेहरूसँग बसेर खाँदा सधैँ यस्तै कुराकानी हुन्थ्यो। यहाँको चटामरी ठिकठिकै थियो, तर छोयला र जाँड त वाह! बबाल!!
३-जी होनाचा कृष्णलाल ब्यञ्जनकारको तेस्रो पुस्ताकी छोरीहरूले चलाएको भट्टी थियो। लेडी डायनालाई अर्को एउटा ठूलो ठाउँमा ब्रान्च खोल्ने इच्छा थियो, बिल तिर्दै गर्दा उहाँले सुनाउनुभयो।
त्यसपछि हामी नन्दिनी फुड कोर्ट पुग्यौँ। चाकु र खुवाको केही योमरी लिएर आनन्द लिन थाल्यौँ। खुवाको योमरी चाकुभन्दा बढी मीठो लाग्यो। नन्दिनी नेवारी भट्टी थियो, साहुनी पनि नेवार, तर यहाँ नेवारी खाना बनाउने काम सबै तामाङ दिदीबहिनीहरूले गर्थे।
अब हामी पाटन दरबार स्क्वायरबाट अलि पर, च्यासल टोलको क्वाछेँ पुग्यौँ। बाहिरबाट सामान्य भट्टीजस्तो देखिन्थ्यो, तर भित्र पस्ने बित्तिकै सबै टेबल भरिएका थिए। मान्छेहरू हाँस्दै, गफ गर्दै, हातमा ऐला र जाँड समातेर बसेका थिए। हामीले एउटा कुनाको टेबलमा एक जना स्थानीय दाइसँग ठाउँ मिलायौँ। उहाँ मुस्कुराउँदै भन्नुभयो, “आउनुस्, सँगै बसौँ।” मेनु हेर्नै परेन। हामीले सोधिहाल्यौँ, “आज के-के मिठो छ?”
उहाँहरू हाँस्दै भन्नुभयो, “सबै मिठो छ।” केही मिनेटमै टेबलमा स्वादहरूको पहाड ऐलाको साथ थुप्रियो।
ऐला। पहिलो घुट्कोमा त मुख जल्यो, दोस्रोमा स्वादले नाच्न थाल्यो। एउटा दाइले भन्नुभयो, “नेवारी खाना बिना ऐला अपुरो हुन्छ भाइ, यो त हाम्रो संस्कृतिकै रगत हो।” ऐला खाँदा थाहा हुन्थ्यो ऐला कुन-कुन बाटो हुँदै गइरहेको छ।
नेपालीहरू मधुशालामा गएपछि नारायणगोपाल त बनै पर्ने । कतै टाढाबाट “आजभोलि हरेक साँझ मातिन थालेछ…” गीत गुन्जियो।
बाहिर निस्कँदा रातको सात बजिसकेको थियो। च्यासलको गल्ली शान्त थियो, तर हाम्रो मनमा नेवारी स्वादको उमङ्ग गुञ्जिरहेको थियो। साथीले भन्यो, “लौ, अब भट्टी-जाममा जाने?”
जाऔँ है त कनिबहलको भट्टी-जाम, ऐलाको नाममा!
पेट भरिएको थियो, मन भरिएको थिएन। केही पोर्कका परिकार र जाँडको स्वाद लिँदै समय गएको थाहै भएन। आजको साँझ यही अनन्तमा बित्यो। सायद आज घर पुग्दा “ढोका खोल्न डल्ली कि आमा ढोका खोल्न, बाहिर जाडो अति साह्रो ढोका खोल्न” भन्नुपर्ने अवस्था थियो। घरमा ढोका खोलिदिने होला कि होइन कुन्नि?












Beautiful article
Covering Newari food of honachha
Honacha ko promotion bhayo
Great write up Gautam Jee
जसलाई बारा भन्ने गरिन्छ बास्तबमा त्याे नेवाः भाषामा वः हाे । अहिले पनि सबैले घरघरमा वः नै भन्छन्। जस्तै माय् वः , मू वः आदि। बारा भनेकाे बीचमा प्वाल भएकाे डाेनट जस्ताे deep fry गरेकाे हुन्छ । Ingredient त्यही नै हाे । बारा अहिले पनि बेचेकाे पाइन्छ।
तर पसल पसलमा वः लाई नै बारा भनेर बेच्न थालियाे । यसलाई म ग्राहक भन्दा नेवाः पसलेहरु कै अनभिज्ञता थान्दछु । तर यहाँहरु जस्ता खाद्य पारखी र लेखकहरुले यस्ता गल्तिहरु सच्याईदिनु भए राम्राे हुने थियाे ।
तथापि लेख राम्राे लाग्याे । नेवाः खाद्य संस्कृति र अहिलेकाे बढ्दाे नेवाः सुलिँ (भट्टि / restaurant) काे झलक पाइयाे ।
Nice write up, curious about what happened after that?