धिकुरपोखरी अनि हामी रोटेरियनहरू

10

बिहान सवा सात बजेदेखि त्रिभुवन विमानस्थलमा रोटेरियन साथीहरू जम्मा हुन थालेका थिए। दिनेश मानन्धरको पहिलो उडान भएकाले उनी अलि चाँडै नै एयरपोर्ट पुगिसकेका रहेछन्। गुप्तबहादुर राना सँगै कुर्सीमा बसिरहेको देखें। केही छिनमै विद्वता प्रधान श्रेष्ठ हतारहतार गर्दै आइपुग्नुभयो। उहाँले हिजो साँझ मैले दिएको डायलग सबैलाई मजाक गर्दै सुनाउनुभयो, “म अलि ढिलो आउँछु है भाइ भनेको त यो मान्छेले, मैले कुर्ने होइन क्या रे, प्लेनले कुर्ने हो क्या रे भनेर मलाई डायलग दियो ।” सबैजना खित्का छोडेर हाँस्दै थिए।

दीपक कुमार श्रेष्ठ मलाई फोन गर्दै आइरहेको देखें। मैले पाँचवटा टिकट बुक गरेको थिएँ, तर एकजना हराइरहेका थिए। छोङ्बा शेर्पा कहाँ होला भनेर मनमा लाग्यो। हतारहतारमा मैले छोङ्बालाई फोन गरें।

“तयार हुँदैछु, ८:४५ को उडान होइन र? उनले भने।

मैले हाँस्दै ८:१५ को हो भनेर सम्झाएँ।

केही बेरमै उनी आइपुगे।

दिनेश मानन्धरको उडान आधा घण्टा ढिलो भएको आकाशवाणीबाट सुनियो। त्यसपछि बिस्तारै अन्य रोटेरियन साथीहरू पनि हामीसँग जोडिन थाल्नुभयो।

आधा घण्टा, फेरि आधा घण्टा भन्दैभन्दै तीन घण्टा कति छिटो बित्यो पता नै भएन।

रोटेरियन सरिता कार्की पनि हामीसँगै हुनुहुन्थ्यो। उहाँ त तीन घण्टाको यो ढिलाइमा एक-दुई चोटि निद्रामै सपनाको शहर घुमेर पनि आइसक्नुभएको रहेछ ।

उहाँले मेरो लेखहरू पढ्नुभएको भन्ने मलाई थाहा थियो, र केही समयअघि मात्र मैले पनि उहाँको लेख पढ्ने सौभाग्य पाएको थिएँ। हामीले यो पोखरा यात्राको कथा सँगै मिलेर लेख्ने निधो गर्‍यौं। यो यात्रा केवल उडानको ढिलाइ, हतार र कुर्नुपर्ने समय मात्र थिएन; यो रोटेरियन साथीहरूको खित्का छोड्ने हाँसो, हल्का मजाक, गहिरो गफगाफ र साझा सेवाको उद्देश्यले भरिएको एउटा सुन्दर र यादगार सुरुवात थियो।

आकाशवाणीको मीठो स्वर गुञ्जियो, “यात्री महानुभावहरू, पोखरा जाने यात्रुहरूलाई गेट नम्बर ५ बाट प्रस्थान गर्न अनुरोध गरिन्छ। कृपया तुरुन्त गेट नम्बर ५ मा उपस्थित हुनुहोला। धन्यवाद।”

यो सुन्नेबित्तिकै सबैको मुहारमा एउटा विशेष चमक आयो । हामी हतारहतार बोर्डिङ गर्‍यौं र विमानभित्र छिर्‍यौं। हामी रोटरीको “ट्रेन द ट्रेनर” कार्यक्रममा सहभागी हुन गइरहेका थियौं।

मलाई विन्डो सिट पर्यो। विमान आकाशतर्फ उक्लँदै जाँदा हिमशृङ्खलाले मनलाई बिस्तारै-बिस्तारै आफ्नो काखमा तानेर लैजाँदै थियो। हिमालहरूमा हिउँको पत्र कम थियो। मध्यान्हको घाममा हिमालहरू पनि सायद सन बाथ गर्दै थिए होला, सेमी नेकेड आफ्नो नाङ्गो सौन्दर्य निर्धक्क देखाउँदै।

तल बादलहरू शान्त र स्थिर थिए, जस्तो कि समुद्रको छातीमा सेतो फिँज बसेको होस्। कहिलेकाहीँ केही आवारा बादलहरू यता-उता भौंतारिएका थिए।

विमान अवतरण हुनेबित्तिकै मैले होटेल बाटिका, पोखरा अगाडि रहेको बसलाई सबैलाई लिन आउन आग्रह गरें। बसबाट जवाफ आयो, “हामी रेडी छौं, तर रोटेरियन बिनिता प्रधान र अम्बिका श्रेष्ठ आउनुभएको छैन ।”

झन्डै ७०-८० मिनेटको लामो प्रतिक्षापछि बल्ल बस हामीलाई लिन आयो। “एकछिनमा आउँदै छु” भन्दाभन्दै पोखरा एयरपोर्टमा धेरै समय कुर्नुपर्‍यो। पेटभित्र मुसा कराउँदै थियो ।

काठमाडौं एयरपोर्टमा जस्तै यहाँ पनि बिनिता हाडा र विद्वता प्रधान श्रेष्ठले आफ्नो झोलाबाट बिस्कुट, सुन्तला र चिप्स निकालेर सबैलाई बाँड्नुभयो।

अब हामी सिधै धिकुरपोखरीतर्फ लाग्यौं। पोखराबाट झन्डै एक घण्टाको बाटो।

धिकुरपोखरी, कास्की हिमालको काखमा लुकेको एउटा मनमोहक गाउँ। यो पोखराबाट करिब २०-२५ किलोमिटर उत्तर-पश्चिममा पर्छ, अन्नपूर्ण गाउँपालिकामा। समुद्र सतहबाट झन्डै १,५१० मिटर (लगभग ४,५२८ फिट) उचाइमा अवस्थित यो ठाउँ माछापुच्छ्रे हिमालको छायाँमा बसेको छ। यहाँबाट अन्नपूर्ण रेञ्ज र विशेष गरी माछापुच्छ्रे (फिसटेल) हिमालको अद्भुत दृश्य देखिन्छ। मिड-हिल हाइवे (पोखरा-बाग्लुङ खण्ड) यहाँबाटै गुज्रिन्छ।

बस चालकलाई त हामी धिकुरपोखरी जाने कुरा थाहै रहेनछ, उनले लेकसाइडतिर लगे। एकजना साथीले भनु भएपछि मात्र उनीहरूलाई थाहा भयो ।

रमाइलो कुरा त के भने, बसभित्रका हामीमध्ये कसैलाई पनि यो ठाउँ कता पर्छ भन्ने ठ्याक्कै थाहा थिएन। बिनिता हाडाले ड्राइभर सिटमा बस्ने साथी खडक बिष्टलाई आफ्नो मोबाइल दिनुभयो र भन्नुभयो, “यो गुगल म्यापले जता-जता भन्छ, तेता जानु!”

मर्ता क्या नहीं करता। गुरुजीले पनि गुगल म्यापकै भरमा हामीलाई पुर्‍याउनु भयो, तर रिसोर्टभन्दा ७ किलोमिटर टाढा।

कार्यक्रम ढिलो भयो, खाली पेट थियौं, र सबैजना मलाई गाली गर्दै थिए किनभने म त इनकमिङ  जिल्ला सचिव थिएँ। तर बिचरा मलाई यो ठाउँको कुनै आइडिया नै थिएन। भोक, ढिलाइ र अलमलका बीच पनि हामी हाँस्दै धिकुरपोखरी पुग्यौं ।

हामीले त राम्रो खानाको आस गरेका थियौं, तर तयार भएको त स्यान्डविच, केही पकौडा र चिया । जे थियो त्यही खुसीले झ्वाम्म पार्‍यौं, छिटोछिटो खायौं र समयको एक सेकेन्ड पनि बाँकी नराखी सिधै कार्यक्रममा हाम फाल्यौं।

“तुलना नगर मेरो कोही जस्तो छैन म, एकछिन अघिको म जस्तो छैन म।“

केही कविता वाचन गरेपछि नेपालको राष्ट्रिय गान र रोटरी गानबाट कार्यक्रमको औपचारिक शुभारम्भ भयो। त्यसपछि डिस्ट्रिक्ट गभर्नर २०२५-२६ बिनोद कोइराला र डिस्ट्रिक्ट गभर्नर २०२६-२७ विष्णुबहादुर कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो।

रोटरी डिस्ट्रिक्टमा पहिलोपटक मास्टर अफ सेरेमनी (एमसी) को भूमिका निर्वाह गर्दै थिएँ, त्यसैले मनमा केही नर्वसता र घबराहट त स्वाभाविक रूपले थियो।

पवन रमण खनालले आफ्नो हार्दिक स्वागत मन्तव्य राख्नुभयो। त्यसपछि बिनोद कोइराला, विष्णुबहादुर कार्की र डा. आई.पी. धकालले सम्बोधन गर्नुभयो। राजेन्द्र मान शेरचनले कार्यक्रमका मार्गदर्शन तथा निर्देशिकाहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुभयो।

कार्यक्रमको दोस्रो सत्रमा सहजीकरणसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा गहन छलफल र प्रस्तुति भयो। हामीले डा. ध्रुव आचार्य, छोङ्बा शेर्पा, डा. दिनेश मानन्धर, लक्ष्मण ज्ञवाली र लक्ष्मी गिरीबाट ज्ञान र अनुभव सुन्यौं। त्यस्तै जितेन्द्रबहादुर राजभण्डारी र सञ्जय गिरीले आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्नुभयो।

यी सबै प्रस्तुति र छलफलले हामीलाई सिक्न र सिकाउन अझ सशक्त बनाउने आधार दियो।

हिमालयन देउराली रिसोर्टको टुप्पामा बोनफायर । जाडोको झिल्कोले सबैजना न्यानो कपडामा आगोको वरिपरि घेरा हालेर गफमा मस्त थिए। मधुशालातिर मदिराका बोतलहरू खोल्ने क्रम सुरु भइसकेको थियो। स्पीकरमा ८० को दशकका बप्पी लहरीका सदाबहार डिस्को गीतहरू गुञ्जिरहेका थिए “I Am A Disco Dancer… जिन्दगी मेरा गाना…

रोटेरियन साथीहरू महेश बज्राचार्य, सुबाष सिग्देल र बिनिता प्रधान त ठ्याक्कै मिथुन चक्रवर्तीझैं ठुम्का लगाउँदै नाचिरहेका थिए। बाँकी सबै ताली बजाउँदै, हुटिङ गर्दै रमाइरहेका थिए। साँझको यो माहोल साँच्चै अविस्मरणीय थियो। हिमालको काखमा आगो, सङ्गीत, नाच र साथीहरूको हाँसो।

तर धेरैलाई इभिनिङ स्न्याक्स र डिनरको बिरयानी भने खासै मन परेन। सायद यो गाउँमा परम्परागत नेपाली दाल-भात-तरकारी भएको भए सबैको मन तृप्त हुने थियो। बिचरी सरिता कार्कीलाई त सात चोटि डायरिया भयो।

रात भरी बती थिएन। यसले मलाई ट्रेकिङका रातहरू सम्झायो, जहाँ बत्ती हुँदैनथ्यो, अनि हामी डाउन ज्याकेट, थर्मल सेट लगाएर पनि जाडोले कठांग्रिएर सुत्थ्यौं। यहाँ पनि धेरैको हालत उस्तै थियो । बिहानको पर्खाइमा सपनाको संसारमा धेरै चोटि ओहोर-दोहोर गरियो।

बिहान कोही साथीहरू मर्निङ वाकमा निस्केका थिए, कोही माछापुच्छ्रे हिमालसँग हाँस्दै फोटो खिचाउँदै थिए। म भने सबैको रातिको खाना नमिलेको गुनासो, चिसोले सुत्न नसकेको कुरा, बत्ती नहुँदा मोबाइल चार्ज गर्न नपाएको पीर सुन्दै थिएँ।

साँच्चै यो ठाउँमा यो कार्यक्रम गर्न सक्ने अवस्था नै थिएन। आयोजकले गम्भीरतापूर्वक नलिएको पनि हो। गल्ती हामी सबैबाटै भएको हो।

ब्रेकफास्ट खाएर हामी हलतर्फ लाग्यौं। ब्रेकफास्ट त ठीकै थियो । बिहान दुई समूहका दुई ठाउँमा समानान्तर सेशन हुनुपर्ने थियो, तर हल एउटा, बत्ती पनि थिएन। एउटा हलमा जेनेरेटरको व्यवस्था गरियो र त्यहाँ मैले सेशन सुरु गरें। बिचारा पवन रमण खनालले आफ्नो सेशन माछापुच्छ्रे हिमाल हेर्दै चौरमा बसेर गर्नुभयो।

साढे तीन घण्टाको सेशन हामीले ठ्याक्कै समयमा सुरु गर्‍यौं र ठ्याक्कै समयमै सक्यौं। ट्रेनरहरूले केही न केही सिक्दै गए होलान् । अब यिनै ट्रेनरहरूले रोटरी डिस्ट्रिक्टका अरू-अरू तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

लञ्च खाएपछि हामी सबै एयरपोर्टतर्फ लाग्यौं। एयरपोर्टतर्फ फर्कने क्रममा बसभरि फेरि हाँसोको फोहोरा छुट्यो।

शिवराज भट्ट नुहाउँदा-नुहाउँदै पानी सकिएछ, अनि टावेलमा आफूलाई बेरेर इनारतर्फ पानी लिन हिँड्नुभएको रहेछ जस्तो कि कुनै पुरानो नेपाली फिल्मको कमेडी सीन!

सुभाकर बैद्यले ब्रस गर्दागर्दै पानी नभएर बोतलको पानीले काम चलाउनुपरेको कथा सुनाउनुभयो।

अनि बिहान एक गिलास तातो पानी र एक कप चिया माग्दा होटेलका स्टाफले “छैन सर” भनेर नदिएको दुःखेसो सबैले पोखे।

यी कथा सुन्दा बसभरि हाँसोको बाढी आयो। विमानको प्रतीक्षामा बसेर यी कथाहरू सुनाउँदा-सुनाउँदा हाँसोले आँसु नै आइसकेको थियो। यो हाँसोले फेरि एउटा कुरा सिकायो । जिन्दगीका असुविधाहरूलाई पनि यदि साथीहरूसँग मिलेर हाँसेर सामना गर्न सकियो भने, ती समस्या होइनन्, ती त यादगार कथाहरू बन्छन्।

रोटरी वर्ष २०२६-२७ को पहिलो कार्यक्रम थियो यो। नयाँ के गर्‍यौं भन्दा हामीले यो पाली खादाको प्रयोग गरेनौं, टोकन अफ लभ किताब दियौं, धेरै औपचारिकता पनि गरेनौं।

सानो प्रयास, तर परिवर्तनको सुरुवात।

10 thoughts on “धिकुरपोखरी अनि हामी रोटेरियनहरू

  1. अति सुन्दर! पढेर एकदम रमाइलो लाग्यो।
    आफु पनि सोही ठाऊॅमा भएको महसुस भयो ।🙏

    1. Beautiful wordings and motivational writeup with Rotary spirit. It would have been better, if learnings and impact of the training been included, just a suggestion.

  2. Writer Rtn Gautam Jee’s article on base reality is very interesting and written in a simple language. If I had to be specific, the article is something I would read more than once. However, Rtn Gautam Jee’s write-ups are always worth reading. Very interesting

  3. Insightful and well-written blog that clearly explains the topic, offers practical takeaways, and keeps readers engaged from start to finish. Looking forward to more posts.. hats off Rtn Gautam!!

  4. Wonderful Brother!
    Life is beautiful in Rotary, especially when Vishnu Da is around!
    Looking forward for a wonderful Rotary year!

  5. Reading this article I feel ..me too was the part of the event.very simple and spellbound article.always love to read your articles

  6. Wonderful travel writing, Rtn. Gautam! You described every incident so vividly that it felt like it was happening right in front of me—just like watching a movie.

  7. Brilliantly written and highly engaging! The blog explains the topic beautifully while offering practical, real-world takeaways. Kept me hooked till the end. Eagerly waiting for your next post—hats off, Rtn Gautam!

  8. कति राम्रो! मैले हवाई जहाज मैदानमा बस पठाउन पाउॅदा खुशी लाग्यो !

  9. नमस्कार, कस्तो राम्रो लेख्या? जाँगर कति चल्या? मज्जा आयो पढेर। ढिकुरपोखरी नै पुगेसरी भयो पासा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *