“Car-O-Bar”: एक मधुशालाको कथा
पाकिस्तानमा मदिरा किन्न जाँदा कुनै-कुनै अफवाह अनुसार तीन पुस्ताको विवरण भर्नुपर्छ रे । शराबीको नाम, उसको बाबुको नाम, हजुरबुवाको नाम! (हो कि होइन, यो त मजाक होला) भारतमा पनि जहाँ पायो त्यहाँ मदिरा पाइँदैन; दिल्लीजस्ता ठाउँमा रेस्टुरेन्टमा खुलेआम पिउन गाह्रो छ। तर नेपाल, मेरो देश? यहाँ त कानुनले स्कूल, अस्पताल, मन्दिर वरिपरि २०० मिटर (केही ठाउँमा ५०० मिटरसम्म) नजिक बेच्न नपाइने भने पनि व्यवहारमा जहाँ पनि पाइन्छ। ठमेलका गल्लीहरूमा, जात्राको भीडमा, मन्दिरकै छेउछाउमा पनि बोतल खुल्छ। नाबालकले पनि सजिलै किन्छन्। जय होस् मेरो देशको खुलापन तर यो खुलापनले कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ।
एकादेशमा म र मेरो मित्र अस्विन ठमेलको एउटा सानो पसलमा पुग्यौं। खल्तीमा सय रुपैयाँ थियो, बोतलको मूल्य ८०-८५ जति। ‘गोल्डेन ग्रेप्स’ नामको सानो बोतल किन्यौं । कस्तो किसिमको मदिरा हो यो, थाहा नै थिएन। बिर्को खोलेर एक घुट्को हाले ।
उफ्! अति कडा!
मैले सिसी अस्विनलाई दिएँ, उसले पनि एक घुट्को खाएर फर्कायो। आधा घण्टामा बोतल रित्तियो। एकछिनपछि अस्विन हरायो, लाग्थ्यो मिस्टर इन्डियाको अनिल कपूर जस्तै अदृश्य भएको। पछि गएर हेर्दा जात्राको दिन थियो, ठमेलको चारदोबाटोमा लाखेसँग नाच्दै थियो।
“म ठीक छु”, यो वाक्य नेपाली समाजमा धेरै लोग्नेमान्छेको साझा पीडा हो। जिब्रोको टुप्पोमा सधैं तयार, तर मनभित्र आँधी चलिरहन्छ। दुःख, तनाव, क्रोध, कमजोरी; यी सब दबाइराख्न “लोग्ने भएर रुनु हुँदैन, मर्दको छोरोले आँसु झार्नु हुँदैन” भन्ने पुरानो संस्कारले थप दबाउँछ। सायद योगेश्वर अमात्यले तेसै यो गीत गाएको त थिएन होला?
अनि उपाय? मधुशाला।
केही समयअघि मध्यरातमा एउटा कविता फुर्यो ।
म गाउँछु गीत जब म नारायण गोपाल हुन्छु,
जब म नारायण गोपाल हुन्छु तब म नारायण गोपालको गीत गाउँछु।
नारायण गोपाल जस्तै न कहिल्यै मन्दिरमा बसेर न मसानमा लडेर पिएँ
तर हो, “लास्ट फर द रोड” भन्दै धेरै पटक बोतल रित्याएँ।
नेपाली सङ्गीत संसारमा नारायण गोपाल, मदिरा र मधुशालाको गहिरो सम्बन्ध छ। ठमेल, इन्द्रचोक, असनका पुराना मधुशालाहरूमा उहाँ चुपचाप बसेर चुस्की लिइरहनुहुन्थ्यो रे। मात लागेपछि गुन्गुनाउँदा मान्छेहरू टोलाएर सुन्दथे।
तर विडम्बना मदिरा उहाँको प्रेरणा थियो, पीडा थियो, र अन्ततः मृत्यु पनि।
रोटरीमा मधुशालाहरूको आनन्द छुट्टै छ। यहाँ ब्ल्याक लेबल, डबल ब्ल्याक, सिंगल माल्ट चल्छ ।जोनी वाकर स्वयं छक्क पर्लान् हाम्रो माग देखेर । केही समय अगाडि एउटा मधुशालामा बसेर हामी केही रोटेरियन साथीहरू गफमा रमाइरहेका थियौं। यसरी नै जब मदिराको कुरा आयो, मित्र अरुण बन्सलले दिल्लीको कथा सुनाउनु भयो। भारतमा मदिरा खुलेआम जतापायो त्यतै पाउँदैन। प्रायः रेस्टुरेन्टमा मदिरा सेवन गर्न पनि नपाइ। दिल्लीमा साँझ परेपछि स्ट्रिट फूड लागेको ठाउँमा धेरै मान्छेहरू आ–आफ्नो गाडी लिएर खाना मगाएर खान्छ। मदिरा बाहिर बसेर खाना नमिल्ने। एउटा लामो काठको बल्ला गाडीको एउटा झ्यालबाट छिराएर अर्को झ्यालमा निकालेर स्ट्रिट फूड बेच्नेहरूले खाना त्यो काठको बल्लामा राखिदिन्थ्यो। अनि ती मर्सिडिज्, बिएमडब्लू, आदि गाडी मालिकहरू गाडीभित्र बसेर मदिराको आनन्द लिन्छ। कारभित्र मदिरा सेवन खानासँग, यसलाई यहाँ कार–ओ–बार भने गर्छन्।
पुराना लंगौटिया यारहरू अस्विन, सुविन, पावन, सुजन, राजन, नविन, राजेन्द्र, सुमितसँग मधुशालामा बस्दाको मज्जा बेग्लै। यहाँ ब्रान्डको मूल्य हुँदैन, बौद्धिक गफ र आइडियाको मूल्य हुन्छ। बोतल रित्तिएपछि मोक्ष प्राप्त हुन्छ। कोही पिएपछि धुरुधुरु रुन्छन्। एकचोटि नजिकको टेबलमा बच्चाको एनिमल किंगडम फोटो देखाएर “यो हेर हात्ती, यो बाघ” भन्दै फकाउनुपर्यो। तीस वर्ष बितिसक्यो, तर यी यारहरूसँगको मधुशाला यात्रा अमर छ।
मधुशाला भनेको केवल मदिरा पिउने ठाउँ होइन, यो जीवनको आनन्द, सत्य, प्रेम, आत्मज्ञानको प्रतीक हो। मन मिल्ने साथीसँग दबिएका भावना साटासाट गर्ने ठाउँ। हरेक मानिसभित्र एउटा मधुशाला छ, जहाँ ऊ आफैंसँग भेट्छ। कहिले हामी मदिरामा डुब्छौं, कहिले मदिरा हामीमा डुब्छ। तर साँचो मित्रता त्यो हो, जसले मधुशालामा पनि होस गुमाउन दिँदैन। किनकि साँचो आनन्द मदिराको मातमा होइन, साथीको संगतमा हुन्छ।
मधुशाला त्यो दर्पण हो, जहाँ हामी आफ्नो वास्तविक रूप देख्छौं। मदिराले केवल भित्रका भावना बाहिर ल्याउँछ। राम्रो साथीले हामीलाई एक्लो हुन दिँदैन। जीवनको सबैभन्दा ठूलो दर्शन यही हो, हामी एक्लै जन्मिन्छौं, तर सँगै बाँच्न सिक्छौं।
“म ठीक छु”
मन सबको उस्तै हुन्छ, नर होस् वा नारी। चोट लाग्दा सबैलाई बिझाउँछ। रुन देऊ मलाई एकचोटि, डाँको छाडी रुन देऊ। भक्कानिएर आँसु बगाउन देऊ। नभन “लोग्ने मान्छे भएर रुनु हुँदैन”।
That is why it is said that you can every battle with bottles easily !
That is why it is said that you can Win every battle with bottles easily !