दार्जिलिङको कुङ्गामा बिताएको त्यो एक साँझ र मम यात्रा
त्यो साँझ दार्जिलिङको कुङ्गा रेस्टुरेन्ट भित्र सबै टेबल भरिभराउ भएकोले हामी केही छिन बाहिरै कुर्दै बस्यौं । कुनै टेबल खाली हुन्छ कि भनेर आशा गर्दै।
केही छिनपछि हामी चार जना एउटै टेबलमा बसेका थियौं म, मेरी श्रीमती प्रार्थना, छोरी प्रार्थी र सासू आमा दिना जोशी। टेबलमा तात्तातो पोर्क मम आएपछि वातावरण एकदमै रमाइलो भयो।
मैले पहिलो ममको टुक्रो मुखमा राखेँ
“यो स्वाद…” कुनै शब्दले नै वर्णन गर्न सकिँदैन थियो त्यसबेला। त्यो स्वादले जिब्रो मात्र होइन, मन नै छोयो।
त्यसपछि सुरु भयो उहाँको कथा।
पुरानो दार्जिलिङ, स्कूल जाने बाटो, टिनको छानामुनिका चिया पसलहरू, बर्खामा पहाडमा लाग्ने कुहिरो, अनि साथीहरूसँग खेल्दै गरेको कुरा। उहाँले बलिउड फिल्म “बरफी” मा देखाइएका ठाउँहरू हामीलाई घुमाउनुभयो। अलि बढी मोटी भए पनि ऊर्जा र उत्साहले भरिपूर्ण सासू आमाको नोस्टाल्जिया र मायाले हामी सबैलाई भावुक बनायो। किन नहोस्, मैतीघर त परियो ।

पछि जब हामी काठमाडौं फर्कियौं, मलाई लाग्यो दार्जिलिङको त्यो ममको स्वाद जिब्रोबाट कहिल्यै मेटिँदैन। तर काठमाडौंले पनि मलाई ममको संसारमा नयाँ-नयाँ ढोका खोलिदियो।
यहाँ मम एउटा खाना मात्र होइन, यो त जीवनको एउटा दर्शन जस्तो लाग्छ।
कुनै पनि रेस्टुरेन्टको मेनु पल्टाउँदा सबैभन्दा पहिला आँखा मममै अडिन्छ। मम नखाईकन खाना पूरा भएको महसुस नै हुँदैन।
मैले नारायण दाइको मासानगल्ली ममबाट सुरु गरें। छ दशकभन्दा पुरानो इतिहास बोकेको त्यो ठाउँमा बसेर मम खाँदा लाग्छ यो त काठमाडौंको जीवन्त इतिहासको स्वाद हो। किरन दाइको ” किरन दाइको सन्दर मम” मा गएँ, जहाँ दाइ आफैं मसला मुछ्दै, जाँच्दै, गुणस्तर कायम राख्दै हुनुहुन्छ। किरन दाइले ११ वर्षको उमेरदेखि आफ्ना काका नारायण दाइको मासानगल्ली मम मा काम गरेका थिए। पछि उनले आफ्नै ब्रान्ड सुरु गरे “किरन दाइको सान्दार मम” ।


महाभारत ममको पुतलीसडक ब्रान्चमा बफ मम खाँदा त झन् आश्चर्य लाग्यो पाटन ढोकाको स्वादसँग एकदमै मिल्दोजुल्दो। महाभारत मम, जसले चार दशकभन्दा बढी समय देखि पाँचवटा फरक स्थानहरूमा सञ्चालन गर्दै आएको छ। मैले पटक-पटक पाटन ढोका र लगनखेल ब्रान्चहरूमा गएर मम खाएको छु । सबै सामग्री र मसला पाटन ब्रान्च मै तयार पारिन्छ, ब्रान्चहरूमा त प्याकिङ मात्र । त्यसैले स्वाद एकदमै एकसमान छ ।
क्वाँटी पूर्णिमाको समयमा, केही नेवारी समुदायका मानिसहरूले असन जस्ता क्षेत्रमा परम्परागत रूपमा क्वाँटीमा मम मिसाएर तयार पार्छन्। मैले सम्स वन ट्री क्याफे, दरबारमार्गको मेनुमा ‘विन्टर स्पेसल क्वाँटी मम’ देखें। यो गेदागुदीको सुप काठमाडौंको चिसो जाडो दिनका लागि एकदमै उपयुक्त हुन्छ, त्यसैले मलाई कुनै शंका नगरी नै अर्डर गरें। सुपमा घरेलु स्वाद थियो, र चिकेन मम पनि त्यस्तै स्वादिलो लाग्यो। सुप धेरै पिरो थिएन, जुन मलाई मन पर्यो किनकि मलाई पिरो नहुने खानेकुरा मन पर्छ। यो खाना एकदमै स्वास्थ्यकर पनि छ, किनकि गेदागुदीको सुपमा प्रोटिन भरपूर हुन्छ।


एक दिन साथीहरूसँग झीर सेकुवा, झम्सिखेल पुगें। यो ठाउँ साधारण, तर स्वादमा भने कमाल । यहाँको मटन हाडी सुपसँगको मम रसिलो, फ्लेवरले भरिएको र तिखो मटन हाडी सुप । हरेक टोकाइमा मटनको गहिरो स्वाद र मसालाको तिखोपन महसुस भयो।
एभरेष्ट मोमो, नक्साल, स्कूलपछि यो ठाउँमा कति पटक गएर मम खाएँ, गन्नै गाह्रो छ। तीन दशकभन्दा बढी समयदेखि सेवा दिइरहेको यो पुरानो ठाउँले कहिल्यै निराश बनाएन। उनीहरूको मम सधैं एकदमै स्वादिष्ट, भरपर्दो र मन छुने हुन्छ ।


पछिल्लो पटक पुल्चोकको घाङ्ग्री क्याफेमा ‘घाङ्ग्री सुमाई खुला मम’ खाँदा त आँखा फेरि चिम्म भयो। त्यो खुल्ला फूल आकारको मम, रसिलो भराइ, तिल-बदाम, टमाटर र हरियो खुर्सानी तीन फरक अचार । पुल्चोकमा रहेको यो ठाउँ फराकिलो र आरामदायी छ जसले मम प्रेमीहरूलाई अवश्य जाने ठाउँ बनाउँछ। चिकेन खुला मोमोको प्लेट रु चार सय र यो मूल्य महँगो पनि हो । मेरो दिदी सरितालाई घाङ्ग्री गएर मम खानै पर्छ प्राय।
आम्बो मम , यहाँ मैले पोर्क र चिकेन दुवै मम ट्राई गरें। दुवै नै रसिलो र स्वादिलो थिए, तर पोर्क मम त एकदमै कमालको लाग्यो, चिकेनभन्दा धेरै मिठो र फ्लेवरफुल। चिकेन भने ठिकै थियो, सामान्य । साथमा तीन प्रकारका अचारहरू थिए । ती अचारहरू पनि एकदमै स्वादिष्ट र तिखो-मिठो सन्तुलित। पोर्क ममका लागि यो ठाउँलाई म सधैं सिफारिस गर्छु । झम्सिखेलमा पुग्दा अम्बो मम छुटाउनुहुँदैन ।


केही महिनाअघिसम्म मलाई लाग्थ्यो, मम भनेको नन-भेज नै हुनुपर्छ। भेज त समोसा जस्तो मात्रै हुन्छ। तर मेरो भाइ गौरव र बुहारी जेनिशाले घरमै बनाएको पनीर मम खाएपछि मेरो यो विश्वास टुट्यो। त्यो स्वाद यति नरम, यति फरक र यति आनन्ददायी थियो । साँच्चै, भेज मम पनि यति मिठो हुन सक्छ र?
दार्जिलिङको कुङ्गाबाट सुरु भएको यो ममको यात्रा अहिले पनि जारी छ, र यो यात्रामा मैले ५० भन्दा बढी ठाउँहरूमा गएर मम चखिसकें । दार्जिलिङको कुङ्गा रेस्टुरेन्टमा परिवारसँग बसेर खाएको त्यो पोर्क ममको स्वादबाट सुरु भएको यो सिलसिला काठमाडौंका सडकहरू, गल्लीहरू र पुराना र नयाँ रेस्टुरेन्टहरूमा फैलिँदै गएको छ।