गैंडाको खोज
नवलपरासीको एउटा फार्महाउस बाहिर जंगल सफारीको जीप हामीलाई पर्खिरहेको थियो। हामी पन्ध्र जनाले उत्साहका साथ जीपमा चढ्यौं। अमलतारी बफर जोन कम्युनिटी पुग्न हामीलाई दुई घण्टा लाग्यो। त्यहाँबाट हामीले प्रवेश टिकट किन्यौं र गुन्द्रही ढकहा सामुदायिक वनमा गैंडाको खोजीमा जंगल सफारी सुरु गर्यौं।


सहरमा बस्ने मानिसहरू प्रायः नेपालका जंगलहरूमा गैंडा र अन्य वन्यजन्तुहरूको खोजीमा घुम्ने सपना देख्छन्। सन् २०२४ को डिसेम्बरमा मेरो परिवार र ससुरालीहरू नवलपरासीमा छुट्टी मनाउन गएका थियौं, जहाँ मेरी ससुरालीको फार्महाउस थियो।
नागढुंगा-मुग्लिङ सडक परियोजनाले डिसेम्बरको अन्तिम हप्तामा दिउँसो ११:०० देखि २:०० बजेसम्म सडक बन्द हुने घोषणा गरेको थियो। यो अवरोधबाट बच्न हामीले सितापाइला हुँदै लामो बाटो रोज्यौं। खराब सडक र लामो यात्राले हामीलाई रोलरकोस्टरको अनुभव गरायो। दश घण्टाको थकानपूर्ण यात्रापछि बल्लतल्ल हामी नवलपरासी पुग्यौं।
थकित शरीर र भोकले आक्रान्त पेट भए पनि, रातमा बालेको आगो र स्कचको बोतलले हाम्रो रातलाई जीवन्त बनायो।
स्कच र नेपाली सन्दर्भ पनि आजकाल बेग्लै छ। ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल जति नेपालमा खपत हुन्छ, त्यति त जोनी वाकरलाई पनि थाहा नहोला।
हाम्रा थकित शरीरले आराम मागे, र हामी गहिरो निद्रामा सुत्यौं। बाहिर वर्षा भइरहेको जस्तो लाग्यो, यो अनुभूति मलाई यो गाउँमा धेरै पटक भएको थियो। वर्षा नभए पनि, रूखबाट टप्कने पानीका थोपाहरू टिनको छानामा बजेको आवाजले मलाई सधैं वर्षा भएको भान हुन्थ्यो। यो अनुभव मलाई मात्र होइन, झन्डै पन्ध्र वर्षअघि मेरा मित्रहरू सुबिन, विश्वास र प्रवोधितलाई पनि भएको थियो। अलिकति रूखहरूका हाँगाहरू छाँटकाँट गर्नुपर्ने छ।

हाम्रो लक्ष्य गैंडा देख्नु थियो, र हामी सबै उत्साहले भरिएका थियौं। ड्राइभरले जीप बिस्तारै चलाए, र गाइडले हामीलाई चुप लाग्न आग्रह गरे। र केही समय आफ्नो लेक्चर दिए, नियम र कानुनको बारेमा, लाग्थ्यो शाहरुख खानले ‘चक दे इन्डिया’ फिल्ममा आफ्नो टिमलाई दिएको जस्तै। हामी पनि सबै “राम इज गुड ब्वाय” जसरी सुनिरहेका थियौं।
हामीलाई जंगलको घना हरियालीले स्वागत गर्यो, पातहरूको खसखस र चराहरूको मधुर चिरबिरले माहोल रमाइलो बनायो। टाढा कतै पण्डित हरिप्रसाद चौरसियाले बाँसुरी बजाएजस्तो लाग्थ्यो। कोही दूरबिनले जंगल नियाल्दै थिए, कोही मोबाइलको क्यामेरा लिएर तस्बिर खिच्न आतुर।
हाम्रा गाइड, एक कुशल कथावाचक, गैंडाको कुरा सुनाउन थाले। “गैंडा सजिलै भेटिँदैन,” उनले भने, “तर म तपाईंहरूका लागि सक्दो कोसिस गर्छु।”
पहिलो आधा घण्टा हामीले जासूसझैं खोज्यौं, हरेक छायाँ नियाल्यौं, तर जंगलको किनारमा केही भैंसीबाहेक केही भेटिएन।
“ओहो, एक करोड वटा मोमो बन्थ्यो होला नि!” कसैले ठट्टा गर्यो।
गैंडा अझै भेटिएको थिएन। पर्समा गैंडा र हात्तीको नोट भए पनि यो जंगलमा गैंडा भेट्नै मुश्किल।
“उ, त्यहाँ हरिण!” मेरी श्रीमती प्रार्थनाले चिच्याइन्। हामी सबै “कहाँ? कहाँ?” भन्दै करायौं, तर हरिण दौडेर हरायो।
केही बेरपछि उनले फेरि चिच्याइन्, “उ, मयूर!” हामीले तस्बिर खिच्न खोज्यौं, तर त्यो पनि झट्टै हरायो।
“त्यो जंगली बँदेल हो कि के हो?” उनले औंल्याइन्।
हो, जंगली बँदेल नै रहेछ! प्रार्थनाले हरिण, मयूर, बँदेल र थुप्रै वन्यजन्तु देखाइन्, गाइडलाई समेत उछिनेर।
छोटो समयमै आकाशमा ठूलो चरा उडिरहेको देख्यौं, तर टाढा भएकाले चिन्न सकिएन। केही मिनेटपछि हामी गिद्ध संरक्षण क्षेत्रमा पुग्यौं।
हामी गैंडाको खोजीमा थियौं, त्यसको भव्य उपस्थिति हेर्न आतुर। घना जंगलमा मयूर, चराहरू र अन्य वन्यजन्तुहरू देख्यौं, तर दुई घण्टा खोज्दा पनि गैंडा भेटिएन।
“नेसनल जियोग्राफिकका फोटोग्राफरहरूले कति धैर्य गर्छन् होला एउटा फोटो खिच्न!” हामीले सोच्यौं।
गाइडले अर्को ट्र्याकरसँग सम्पर्क गरे। उनको जवाफले हामीलाई चकित पार्यो: उनले गैंडाको स्थान मात्र पत्ता लगाएनन्, तर अघिल्लो रात गैंडाले एक गाउँलेलाई मारेको पनि सुनाए।
“को मर्यो? किन जंगल गएको? शिकारी थियो कि?” यस्ता प्रश्नहरू सानो स्वरमा गफ भयो।
बाटोमा एउटा विशाल हात्ती देख्यौं, तर गैंडा अझै भेटिएन। लामो खोजीमा असफल भए पनि हाम्रो उत्साह कम भएन। जंगलको सौन्दर्यले हाम्रा आँखा चम्काए, साझा साहसिकताले मन रमायो।
गाइड निराश देखिन्थे, तर अचानक प्रार्थनाले चिच्याइन्, “उ, गैंडा! त्यहाँ टाढा!” हामीले उनले औंल्याएको ठाउँमा आँखा दौडायौं। कोही उत्साहित भए, कोहीले देखेको नाटक गरे।
जसरी कक्षामा शिक्षकले “बुझ्यौ?” भन्दा सबैले “बुझ्यौं, सर!” भन्थे, हामीले पनि त्यस्तै गर्यौं। “त्यो हो कि होइन? कहाँ छ, मैले त देखिनँ!”
केही मिनेटको ड्राइभपछि, त्यहाँ थियो एउटा गैंडा, हरियो घाँसमा बिस्तारै चरिरहेको। एकछिन गैंडाले आफ्नो विशाल टाउको उठायो, हाम्रा आँखा जुधे।
मानौं गैंडाले भन्यो, “जंगलमा स्वागत छ!”
त्यसपछि उसले फेरि चर्न थाल्यो। हामीले फोनको क्यामेरा जुम गरेर तस्बिर खिच्यौं, यद्यपि गैंडा टाढा थियो। दुई घण्टाको खोजीपछि जीवित अवशेष भेट्यौं, तर दूरीले हामीलाई असन्तुष्ट बनायो।
हामी हेरिरहँदा एउटा विशाल हात्ती गैंडातिर आयो, जसले गैंडा डरायो। गैंडा घाँसमा लुक्न खोज्यो। ठीक त्यहीबेला, जब हात्ती र गैंडा आमनेसामने हुन लागे, गैंडा अचानक हाम्रो दिशातिर दौडियो!
त्यसबेला थाहा भयो, गैंडा हात्तीसँग डराउँदो रहेछ।
हाम्रो उत्साह चुलियो। जंगलले हाम्रो धैर्यलाई पुरस्कृत गर्न लागेको जस्तो लाग्यो। हामी चुपचाप हेरिरह्यौं, गाइडले फुसफुसाउँदै भन्यो, “गैंडाको दृष्टि कमजोर हुन्छ, तर सुन्ने शक्ति तीव्र।”
दश मिनेटपछि, गैंडा हाम्रो ठीक अगाडि प्रकट भयो, जसरी तपस्वीको अगाडि भगवान प्रकट हुन्छ। हामी सबै चकित भएर फ्रिज भएजस्तै भयौं क्यामेरा क्लिक गर्दै, भिडियो खिच्दै। तर अचानक, गैंडा हरियो झाडीमा हरायो।
तीन घण्टाको खोजीले रोमाञ्चकता थप्यो। ती घण्टाहरू केवल ढिलाइ थिएनन्; ती जीवनभरको सम्झनाको आधार बन्यो।
जंगलले हाम्रो धैर्यको परीक्षा लियो र हामीलाई अविस्मरणीय कथाले पुरस्कृत गर्यो।
प्रार्थनालाई हामीले जंगल गाइड बन्नुपर्छ भन्यौं, उनको तीक्ष्ण आँखाले ट्र्याकरभन्दा धेरै वन्यजन्तु देखायो। गैंडा हाम्रो मुकुटको रत्न बन्यो, तर वास्तविक खजाना ती पलहरूमा चम्कियो—हामीले साझा गरेको आश्चर्य, जंगलको जादूले हामीलाई परिवारको रूपमा अझ नजिक बनायो।


साँझ परिसकेको थियो। फार्महाउसमा बार्बेक्यूको कार्यक्रम बाँकी थियो। स्कचको बोतल रित्याउन र रमझम गर्न बाँकी नै थियो। मनमा सन्तुष्टि बोकेर हामी फार्महाउसतिर लाग्यौं।








