“Goodbye Blue Sky” गाउँदै Pink Floyd ले हामीलाई एकैचोटि पूरै अर्कै संसारमा पुर्‍याइदियो। उनीहरूको Progressive, Psychedelic र Experimental Rock को त्यो अद्भुत मिश्रण अनि लामो–लामो Instrumental भागहरू, दार्शनिक गीत रचना, संगीत र जीवनका गहिरा प्रश्नहरूको यात्रा।

आकाशबाट बादलहरू बिस्तारै हट्दै गएजस्तो, जीवनका सबै भारी बोझहरू पनि त्यही गीतसँगै हराउँदै गएजस्तो लाग्थ्यो। गीत सकिन नसक्दै, अर्को masterpiece सुरु भयो ।

“Hey You”

र त्यसपछि आयो “Comfortably Numb”…

ओहो, David Gilmour को त्यो लामा, भावुक गिटार सोलोले गाडीभित्रै आकाश खोलिदियो। यो गीतले जीवनको पीडा र भावनात्मक सुन्निनुको कुरा गर्छ । जसरी कुनै औषधिले दुखाइबाट टाढा पुर्‍याउँछ, तर त्यहीसँगै तिमीलाई आफ्नै भावनाहरूबाट पनि अलग्ग्याउँदै एक्लो बनाउँदै जान्छ।   

त्यो बेला हामी Deepak Das Tamrakar, Rupak Das Tamrakar, Chhongba Sherpa र म Gautam Shrestha काठमाडौंबाट भैरहवातर्फको अविस्मरणीय ड्राइभमा थियौं। Pink Floyd को संगीतले गाडीलाई जादूको खोलामा बदलिदिएको थियो। जीवनको पर्खाल, भावनाहरू, विद्रोह, र स्वतन्त्रताको त्यो अद्भुत अनुभूति।

मैले साथीहरूलाई सुनाएको थिएँ, “म ब्यान्डमा बजाउँदा ‘The Wall’, ‘Comfortably Numb’ र ‘Money’ जस्ता गीतहरू बजाउने गर्थें।” उनीहरूले पनि उत्सुकतासाथ सुने र हामी सबै पुराना दिनहरूमा फर्केर रोमाञ्चक कुराकानीमा लाग्यौं। 

कहिले Pink Floyd ले जीवनको पर्खाल, विद्रोह र स्वतन्त्रताको कुरा गर्थे, कहिले Bob Marley ले “Buffalo Soldier” गाउँदै स्वर्गबाट झरेर हाम्रो गाडीमा आउँथे, कहिले John Lennon ले “And I Love Her” सुनाउँथे, अनि एकछिनमा Angus Young ले हाफ पाइंटमा गितार बजाउँदै Chicken Leg देखाएर हामीलाई हँसाउँथे। बुढेसकालमा पनि Angus Young को त्यो जोश अझै ताजै छ।

जब हामी दाउनेको मन्दिरअगाडि पुग्यौं, ठ्याक्कै त्यही बेला “Time” को घण्टी बज्न थाल्यो।

“Ticking away the moments that make up a dull day…”

दाउनेको एक किलोमिटर बाटो बिग्रिएको ।  रोकदै गुड्दै, उबडखाबड सडकमा गाडी हाँक्दै थियौं।  त्यही बेला David Gilmour ले आफ्नो गितारमा मनै छुने स्वरमा गाइरहेका थिए  “Coming Back to Life” ।  यो गीत भावनात्मक पुनर्जागरण को कथा हो। पीडाबाट मुक्ति, विगतको बोझ छोडेर नयाँ जीवनतर्फ फर्किने, र प्रेममा फेरि जीवित बन्ने यात्राको गीत हो। ठूलो दास अलि चुपचाप, तर सानो दास रुपक दास भने David Gilmour सँगै गाउँदै थिए।   

हाईवेमा ड्राइभ गर्दा समयको बहाव अझ छरितो महसुस हुन्छ। पछाडि छोडिएका शहरको भीड, कामको दबाब, दैनिक रुटिन सबैलाई पछाडि छाडेर हामी अगाडि बढिरहेका थियौं। 

हाँस्दै, गुनगुनाउँदै, कहिले गम्भीर भएर संगीतको इतिहासमाथि गफ गर्दै हामी यात्रा गरिरहेका थियौं। संगीत मात्र सुन्ने होइन, त्यसको पछाडिको कथा बुझ्ने र साट्ने आनन्द पनि यो यात्राको अर्को मजा थियो।

रोटरीको यात्रामा म धेरै पटक धेरै साथीहरूसँग ड्राइभ गरिसकेको छु। तर यो यात्रा जस्तो Pink Floyd को गहिरो, दार्शनिक र हृदयस्पर्शी संगीतले भरिपूर्ण, Comfortably Numb ले मन सुन्न्याउँदै, पुराना यादहरू ताजा गर्दै, हृदयदेखि नै रमाइलो भएको अर्को अनुभूति कहिल्यै भएको थिएन। 

मलाई लाग्छ, त्यो दिन हामीले मात्र काठमाडौंबाट भैरहवासम्मको भौतिक यात्रा गरेका थिएनौं। Roger Water र David Gilmour को Pink Floyd मार्फत हामीले आफ्नो युवा समय, विद्रोही भावना, आरामदायी सुन्निनु र सच्चा मित्रतालाई फेरि एक पटक अँगालेका थियौं।

We don’t need no education
We don’t need no thought control
No dark sarcasm in the classroom
Teachers leave them kids alone
Hey! Teachers! Leave them kids alone

 

3 thoughts on “Goodbye Blue Sky

  1. A great experience with dedicated Rotarians, truly living the spirit of “Service Above Self” to “Create Lasting Impact.”

Leave a Reply

Your email address will not be published. Required fields are marked *