मधुशाला, मौसम र एक्लोपन
बाहिर झमझम पानी परिरहेको थियो। म एउटा मधुशालाको कुनाको टेबलमा एक्लै बसेर बाहिरको झ्यालबाट हेरिरहेको थिएँ। वर्षाको मौसममा मुसलधारे पानी बर्सिरहेको थियो। झ्यालमा थोपाहरू ठोक्किने आवाज, चिसो हावाको हल्का स्पर्श र मदिराको गन्धले मधुशालालाई अझ गहिरो बनाएको थियो। बटुवाहरू कोही वर्षादी ओढेर, कोही छाता ओढेर आफ्नो घरतिर जाँदै थिए भने कोही कतै ओत लागिरहेका थिए।
मधुशाला, मौसम र एक्लोपनको बीचमा मेरो अगाडि सोमरसको गिलास, केही सितन र चिसो हावा थियो। मनभित्र गहिरो उदासी थियो। दिनभरि कसैसँग बोल्न मन लागेन, अरूसँग त झन् होइन। एक्लै बस्नु नै सहज लागिरहेको थियो।
“लोग्ने मान्छे भएर रुन हुन्न रे…” भन्ने योगेश्वर अमात्यको गीत सम्झिँदा मन अझ भारी भइरहेको छ। साँच्चै नै लोग्ने मान्छे भएर रुन हुन्न? मनभित्र यति पीडा बोकेर पनि बाहिर मुस्कुराउनु मात्रै हो त पुरुषत्व? बाहिर सावनको झरी, भित्र मनको झरी, र यो मधुशालाको एक्लोपन…
मधुशालाभित्र बटुवाहरू क्रमशः आफ्नो-आफ्नो स्थानमा बसेर रमाइरहेका थिए। कसैले सायद दुःखमा पियुँदै थिए त कसैले सुखमा। कोही हाँस्दै थिए अनि कोही नाच्दै। गिलासहरूको हल्का ठक्कर र हँसाईको आवाजबीच पनि म एक्लै थिएँ। मधुशालाभित्र जब-जब म पस्छु, नारायण गोपाल याद आइहाल्छन्। आजभोलि हरेक साँझ मात्तिन थाले छ । नारायण गोपालका गीतलाई विद्वानहरूले आफ्नै किसिमले बुझे होलान्, तर म जस्तो एउटा तुच्छ मानिसले नारायण गोपालका गीतलाई हरेक पटक बुझ्न खोज्दा झन् गहिरो सागरमा डुबेको जस्तो यस्तो महसुस हुन्छ ।
कुन मुडमा हुँदा, कस्तो अवस्थामा हुँदा नारायण गोपालले ती गीत गाएका होलान्? र रचनाकारका शब्दहरू? नारायण गोपालका गीतहरू सतहमा रोमान्टिक लाग्छन्, तर भित्रभित्रै जीवनको गहिरो दुःख, एकान्त र अस्तित्वको प्रश्न लुकेका हुन्छन्। मोनालिसाको चित्रजस्तै । सायद लियोनार्दो दा भिन्चीले पनि त्यही गहिरो मुडमा मोनालिसामा प्राण हालेका थिए। चित्रमा जस्तै गीतमा पनि एउटा रहस्यमय मुस्कान छ, जसले दुःख र शान्ति दुवै लुकाएको छ।
नारायण गोपाल, मधुशाला अनि म जस्ता हजारौं देवदासहरू। देवदासको अर्थ यो होइन कि सबै मधुशालामा आउने कुनै पारोको प्रेममा डुबेर नै आउने। प्रेमलाई हामी यसरी पनि नलियौं कि यो केवल एक केटा र केटीबीचको मात्र हो। प्रेम परिवारसँगको, कामसँगको, साथीसँगको, आफ्नो इच्छाँसँगको । जे पनि हुन सक्छ।
साँझ ढल्दै थियो। मधुशाला पनि रित्तिँदै थियो। कोही रमाइलो हुँदै त कोही दुःखी हुँदै। म सोचिरहेको थिएँ मेरो त्यो एक्लोपन अझै मसँग छ कि छैन। त्यही बेला संगैको टेबलमा बसेको जस्तो लाग्ने एक आवाजले मलाई भन्यो “गल्ती हजार हुन्छन् यहाँ। होश हराएको बेला भाइ, जाऊ… घर जाऊ।” नारायण गोपालको त्यो काल्पनिक आवाजले मन छोयो।
एक्लोपन त्यहीँबाट सुरु हुन्छ जब हामी आफूले आफूलाई समय दिँदैनौं। जब भीडमा हराएर पनि आफ्नो मनको आवाज सुन्न छाड्छौं, जब अरूलाई आफूभन्दा बढी प्राथमिकता दिन्छौं र उनीहरूबाट असीमित अपेक्षा राख्छौं। जब मौनतालाई साथी बनाउन सक्दैनौं र बाहिरबाट मात्र स्वीकृति खोज्छौं। आज यो मधुशालाको कुनामा बसेर मैले बुझेँ एक्लोपन कसैको अनुपस्थिति होइन, आफैंसँगको दूरी हो।
बाहिर पानी अझै झमझम परिरहेको थियो, तर भित्र मेरो मनमा पहिलो पटक केही शान्ति बर्सिन थालेको थियो।